काठमाडौं । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय फ्युचर बोनस प्रोभिजन (भविष्यको लागि रिर्जभ राख्नुपर्ने व्यवस्था) लागू गरेसँगै त्यसको मारमा पुराना तथा ठूला बीमा कम्पनीहरु देखिएका छन् । उनीहरुले एकातिर भविष्यको लागि रिर्जभ रकम राख्नु पर्ने छ भने अर्कातिर तत्काललाई पनि आफ्नो खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थामा मुख्यतय पुराना बीमा कम्पनीहरुलाई ठूलो समस्या सिर्जना भएको हो ।
नियामकीय प्रावधान भएकाले कुनै पनि जीवन बीमा कम्पनीलाई फ्युचर बोनस प्रोभिजन नगरी सुख छैन ।
उदाहरणका लागि जसरी कानुनी कामकाजका फाइल वकिलले तयार गर्छन्, अडिटको काम अडिटरले गर्छन् त्यस्तै बीमाको बोनस दर निर्धारणको जिम्मा एक्चुरीहरुलाई दिइएको हुन्छ । त्यस्ता एक्चुरीहरु बीमाको स्वतन्त्र प्राविधिक विश्लेषक समेत हुन् ।
पछिल्लो समय केही बीमा कम्पनीहरुको नाम नै तोकेर कुनै सीईओ वा संचालकहरुले बोनस दर घटबढ गराएको वा केही चलखेल गरेको हुनसक्ने आशंका छ्याप्छ्याप्ती फैलिरहेको छ । यसको मतलब बीमा कम्पनीहरुको बोनस बीमा कम्पनीका सीईओहरुले नै निर्धारण गर्ने हो भन्ने भ्रम पनि व्याप्त हुँदै गएको छ । यसमा साधारणतय जो कोहीले बुझ्नु पर्ने कुरा के छ भने यदी कुनै पनि सीईओले नै बीमाको बोनस दर निर्धारण गर्थे भने उनीहरुले बीमा बजारको सबैभन्दा उच्च दरको बोनस आफ्नो कम्पनीमै निर्धारण गर्ने पक्का छ । तर, वास्तविक धरातलमा उभिएर हेर्ने हो भने त्यस्तो हुँदैन । किनकी बीमा कम्पनीहरुले वर्षौनि करोडौ रुपियाँ खर्चिएर एक्चुरी हायर गर्ने गर्छन् ।
अहिले नेपाली बीमा बजारमा नयाँ तथा साना जीवन बीमा कम्पनीहरुको हकमा भने फ्युचर बोनस प्रोभिजनले त्यस्तो केही पनि समस्या पारेको छैन । पहिलो कुरा उनीहरुकोमा बीमा गराउँने बीमितहरुको संख्या कम छ । जसको मतलब हो उनीहरुको जोखिम कम छ । जब बीमा कम्पनीले बीमितलाई तिर्नु पर्ने दायित्व भार बढ्दै जान्छ त्यस्तो अवस्थामा बीमा कम्पनीहरुको खर्च पनि ह्वात्तै बढ्न पुग्छ । यो बीमा कम्पनीहरुको कमजोरी होइन । ठूलो र पुरानो कम्पनी हुनु भनेको उल्टै धेरै जना बीमितहरुको विश्वास कमाएको प्रमाण हो ।
तर, पछिल्लो समय केही बीमा कम्पनीहरुलाई लक्षित गरेर नकारात्मक टिका टिप्पणीहरु भइरहेका छन् । त्यसले गर्दा बीमितहरुमा एक किसिमको भ्रम सिर्जना हुने मात्र नभई भोलिका दिनमा उनीहरुले ठूलो जोखिम आईपर्दा बीमाले दिने आर्थिक लाभबाट बञ्चित हुनुपर्ने अवस्था निम्तिने देखिन्छ । त्यो, पनि अकरण ।
यता, बैंक वित्तीय क्षेत्र माथि प्रहार हुने गरी नकारात्मक टिका टिप्पणी हुँदा बैकको नियामक नेपाल राष्ट्र बैंकले विज्ञप्ती समेत जारी गरेको अवस्था छ । तर, अर्बौ अर्ब रुपैयाँ बराबरको जोखिम धारण गर्ने जीवन बीमा कम्पनीहरु माथि बोनस दरको नकारात्मक अफवाह फैलदा नेपाल बीमा प्राधिकण मौन बस्न रुचाएको अवस्था छ । सोही अवस्थाका कारण पुराना तथा ठूला जीवन बीमा कम्पनीहरुलाई भित्र,भित्रै ठूलो दबाब सिर्जना भएको पाइएको हो । ती कम्पनीहरुको सीईओहरुले आफ्नो भूमिकाको बारेमा नियामक निकायले समेत प्रष्ट हुने गरी कुनै विज्ञप्ती वा सूचना जारी नगरे त्यसले भविष्यमा विकराल अवस्था निम्त्याउँन सक्ने बताएका छन् ।
यता नेपाल बीमा प्राधिकरणले भने भविष्यलाई जोगाड गर्नु बीमा कम्पनी र बीमित दुवैको लागि राम्रो कुरा रहेको बताउँदै आएको छ भने ठूला जीवन बीमा कम्पनीमा देखिएको मुख्य समस्याको बारेमा कुनै एक्सन नलिएको अवस्था छ ।नागरिकको जोखिम बहन गर्दै आएका बीमा कम्पनीहरुको समस्याको बारेमा बुझेर त्यसलाई समाधान गर्दै नियमनको दायरामा ल्याउँन जरुरी देखिएको छ ।



































