काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि टिकट बिक्री सुरु गरेको छ। मंसिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका पहिलो चरणका खेलका लागि टिकट बिक्री खुला गरिएको क्यानले जनाएको छ।
संघले जारी गरेको विज्ञप्तिअनुसार दर्शकहरूले पहिलो ६ दिनका खेलका लागि टिकट खरिद गर्न सक्नेछन्। टिकट बिक्री Khalti by IME मार्फत अनलाइन उपलब्ध हुने क्यानले जानकारी दिएको छ।
क्यानका अनुसार ओपनिङ डे र शनिबारका खेलका लागि सामान्य टिकटको मूल्य पाँच सय रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार पाँच सय रुपैयाँ तोकिएको छ। त्यस्तै, हप्ताको साधारण दिनमा हुने खेलका लागि सामान्य टिकट पाँच सय रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ पर्नेछ। प्लेअफ र फाइनल खेलका लागि भने सामान्य टिकट एक हजार रुपैयाँ र प्रिमियम टिकट दुई हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ।
पूरै प्रतियोगिता हेर्न चाहने दर्शकका लागि सिजन पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।



































