काठमाडौं । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्धता रहेको जनाएको छ।
प्राधिकरणले एनसेल आजियाटाको जवाफ प्राप्त भएको भन्दै एनसेल खरिद बिक्रीमा कम्पनीले नेपालको कानून पालन गर्न तयार रहेको उल्लेख गरेको बताएको छ ।
मंसिर १५ गते शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री भएको खुलासा भएपनि प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था स्मरण गराएको थियो ।
‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९ट० बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशत भन्दा वढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेलको हस्ताक्षरमा एनसेल आजियाटालाई पठाएको पत्रमा भनिएको छ।
आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड ९५ करोड (अमेरिकी डलर)मा बिक्री गरेपछि विवाद हुँदै आएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत शेयर खरिद गरेको हो ।

































