काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रियल स्टेट सेक्टरमा हदबन्दीले समस्या सृजना गरेको बताएका छन् । शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले रियल स्टेट सेक्टरमा हदबन्दीले समस्या सृजना गरेकोले यसमा पुनस् छलफल गर्नु पर्ने जिकिर गरेका छन् । उनले जग्गा तथा आवास विकास महासंघले देशको समृद्धि हासिलमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै कृषि उत्पादनका लागि जग्गाको वर्गीकरण गरेर उपयोग गर्नु पर्ने जानकारी दिए ।
अर्थमन्त्री पौडेलले रियल स्टेटको ब्रोकरलाई लाईसेन्स दिनुपर्ने जिकिर गर्दै ल्यान्ड पुलिङ गर्न पाउने अधिकार निजी क्षेत्रलाई पनि उपलब्ध गराउनु पर्ने दाबी गरे । निर्माण क्षेत्रको ऐन छिटो ल्याउनु पर्ने भन्दै उनले भने, ‘अहिले हदबन्दीको कुरा धेरै उठिरहेको छ । यस्ले समाजलाई योगदान गरिसकेको छ । तर अहिलेको परिस्थितिमा हदबन्दीलाई हुबहु राख्ने हो भने यस्ले आजको समस्या समाधान गर्न सक्दैन ।’
हाल घर जग्गा कारोबारमा सङ्कुचन आएको उनको भनाइ छ । ‘कानूनि संगठन गरेर मुलुकको घर जग्गा कारोबारमा देखिएको सङ्कुचनलाई अन्त्य गर्नु पर्नेमा सरकार लागेको छ ।’ उनले थपे ‘जग्गामा देखिएको समस्या समाधान गर्न तपाइँहरु मौन नबस्नु होस् । सरकारले जायज समस्या समाधान गर्छ । जग्गाको समस्या भनेको सरकार, मुलुक पनि समस्या हो ।’


































