काठमाडौँ । दशैँको अवसरमा सरकारी अफिसदेखि निजी क्षेत्रसम्म सबै ठाउँमा बिदा भइसकेको छ। लामो दूरीको यात्रा गर्नेहरूले आफ्नो गन्तव्यमा पुगिसकेका छन्। वर्षभरीको सबैभन्दा लामो बिदा यही दशैँ–तिहारमा हुने भएकाले मानिसहरूले विभिन्न तरिकाले रमाइलोको योजना बनाएका हुन्छन्। कोही साथीभाइसँग घुम्न जाने, कोही गाउँघरमा रमाउने, कोही घरायसी काम सिक्ने, त केहि नयाँ किताब पढ्ने तयारी गर्छन्।
विद्यार्थी र कर्मचारीहरूको लागि वर्षभरीको लामो बिदा यही समयमा पर्छ। कर्मचारीहरूले दशैँ खर्चका लागि थप एक महिनाको तलब पाउँछन्। यो तलब केवल भात–मासु र नयाँ कपडामा मात्र खर्च हुँदैन, नयाँ पुस्तक खरिदमा पनि लगाइन्छ। लामो यात्रा गर्दा बसमा पढ्नका लागि किताब उपयुक्त हुन्छ। आज हामीले दशैँ बिदाको समयमा कुन पुस्तक पढ्दा उपयुक्त र समयसापेक्ष हुने विषयमा चर्चा गरेका छौँ।
पुस्तक पढ्नु केवल मनोरञ्जनका लागि होइन। यसले व्यक्तिलाई बुझ्ने, देख्ने र सोच्ने क्षमता दिन्छ। पुस्तकले मानिसलाई भद्र र परिपक्व बनाउँछ, साथै व्यक्तित्वमा सकारात्मक प्रभाव थप्छ। राम्रो पुस्तकले व्यक्तित्व विकास, समाज र जीवनप्रतिको दृष्टिकोण फराकिलो बनाउँछ र मानिसलाई सन्तुष्टि तथा शान्ति दिन्छ।
यहाँ केही पुस्तकहरूको सूची प्रस्तुत छ, जसले तपाईंलाई ज्ञान र आनन्द दुवै दिन सक्छ:
न्याय – सुशीला कार्की
नेपालको पहिलो महिला प्रधानन्यायधीश भइसकेकी सुशीला कार्की गत भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रधानमन्त्री बन्दै नेपालको पहिलो प्रधानमन्त्री पनि बनिन् । उनको यो आत्मकथा २०७५ सालमा प्रकाशन भएको हो । उनले लेखेको न्याय केवल आत्मकथा मात्र होइन, नेपालको न्यायपालिकाको दृष्टिबाट राजनीतिक सङ्क्रमणकालीन घटनाहरूको साक्षी दस्तावेज पनि हो। न्यायिक समाज निर्माणका लागि सत्यको आधारमा उभिँदै महाअभियोग र चुनौतीहरूको सामना गर्न तयार उनी इमानदारी, निष्ठा र न्यायको प्रतिमूर्ति हुन्। यो पुस्तक प्रधान मन्त्रीको कलमबाट लेखिएको ऐतिहासिक दस्तावेज जस्तै छ, जसले पाठकलाई न्याय, राजनीति र समाजको अन्तरसम्बन्ध बुझ्न सहयोग पुर्याउँछ।
पत्रकार देवप्रकाश त्रिपाठीको ‘तुषानल’ राजनितिमा चासो राख्नेका लागि उत्कृष्ट पुस्तक हो। बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताहरूको भूमिका र देशको अवस्था समेटिएको यस पुस्तकमा गहन विश्लेषण पाइन्छ।
सत्ता सङ्घर्ष – राम कृष्ण भण्डारी
सत्ता सङ्घर्ष पुस्तक ०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि नेपाली राजनीति र शासन प्रणालीको विश्लेषण हो। जनप्रतिनिधिहरूको हातमा शासन आएपछि जनतामा आशा पलायो, तर दलीय द्वन्द्व र सत्ता दाउपेचले मुलुकलाई दिशाहीन बनायो। २०४८ देखि २०७८ सालसम्म ३० वर्षमा २८ सरकार बने। पुस्तकले यही चक्रव्यूह, अस्थिरता र सत्ता सङ्घर्षको कथा प्रस्तुत गर्दै प्रजातन्त्रदेखि हालसम्मको राजनीतिक यात्रालाई उजागर गरेको छ। पाठकलाई नेपालको राजनीतिक संरचना र शासन प्रणाली बुझ्न मद्दत पुर्याउने महत्वपूर्ण ऐतिहासिक दस्तावेज हो।
उर्वशी – देवीप्रसाद सुवेदी
उर्वशी प्रेमको गहिराइमा लुकेको अज्ञात चुम्बकीय शक्तिको कथा हो। यस उपन्यासमा प्रेम केवल मनमोहक होइन, तर आकर्षण र विकर्षणले भरिएको पेचिला सम्बन्ध पनि प्रस्तुत गरिएको छ। उर्वशीको सौन्दर्य र मादकता पाठकलाई मोहित बनाउँछ, र यसले जीवनका सुख-दुःखका आरोह-अवरोहलाई उजागर गर्दछ। नृत्य र प्रेमसँगको सम्बन्धमार्फत उर्वशीले आफ्नो जीवनलाई परमप्रेमरूप शिवतत्त्वमा समर्पित गरेकी छिन्, जसले उनको अन्तिम गन्तव्य निर्धारण गरेको छ।
यदि तपाईं यस दशैंमा पढ्ने किताबको सूचीमा राख्न चाहनुहुन्छ भने एक सर्काे माया तपाईंका लागि उत्कृष्ट विकल्प हुन सक्छ। यो उपन्यास एक नेपाली युवा श्रमिकको कथा हो, जो रोजगारको लागि माल्दिभ्स पुगेका छन्। अनायासै उनले एउटा जालमा फँस्छन् र आफू फँसेको कुरा थाहा भएपनि त्यसबाट बाहिर निस्कन सक्दैनन्। त्यहाँको सुन्दर मोडलसँगको उनको प्रेम, प्रेम र मानसिक द्वन्द्वबीचको संघर्ष, र अन्ततः उनी र पाठकले सँगै अनुभव गर्ने हरिणको भूत नै यस उपन्यासको मुख्य भाव हो।
जी.एस. पौडेलको यो ४५० पृष्ठ लामो उपन्यासले पाठकलाई भिन्न संसारमा यात्रा गराउने अनुभव दिन्छ। केवल प्रेमको लामो धुवाँको सर्को मात्र नभई, केही रोचक उपकथाहरू पनि कथामा मिसिएका छन्, जसले पुस्तकलाई अझै उत्साहजनक र रमाइलो बनाएको छ। माल्दिभ्समा लामो समय बस्ने क्रममा राउधा अतिफ नामकी माल्दिभियन मोडलको सुन्दरतालाई प्रेरणाका रूपमा प्रयोग गर्दै लेखिएको यो फ्यान्टसी प्रेमकथा यस दशैंको पढाइका लागि रमाइलो र सन्देशपूर्ण पुस्तक बन्नेछ।
उरमाल – छुदेन काविमो
थुप्रै पात्र र तिनका आ–आफ्ना व्यथा एउटै मालामा गुँथिएका छन्। यी कथाहरू कहिले दशकअघिका छन्, कहिले ब्रिटिसकालीन समयका, त कहिले लोककथाबाट सापटी लिइएका। कथा कोलाजझैँ लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यासले गहिराइ, शिल्प र काव्यिक लयमार्फत पाठकलाई चकित पार्छ।
महावीर पुन : सम्झना, सपना र अविरल यात्रा – महावीर पुन
‘जेन–जी आन्दोलन’ पछि महावीर पुन हाल नेपालका शिक्षा मन्त्री भएका छन्। तर यसअघि नै उनले आफ्नो आत्मकथा महावीर पुन स् सम्झना, सपना र अविरल यात्रा लेखिसकेका छन्।
महावीर पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा कार्यकर्ता हुन्। विशेषगरी हिमालयका दुर्गम क्षेत्रमा ताररहित प्रविधिको प्रयोग गरेर विकासको बाटो खोलिदिने कार्यका लागि उनी प्रसिद्ध छन्। यो कार्यलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना भनेर पनि चिनिन्छ।
उनको योगदानलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिइसकेको छ। पुन मानवतावादी व्यक्तित्व हुन्, जसको कामले नेपाली युवालाई आफ्नै देश फर्केर यसको विकासमा सेवा गर्न प्रेरित गरिरहेको छ।
Nexus – Yuval Noah Harari
नेक्सस मानव सभ्यताको सम्पूर्ण इतिहासलाई सूचना सञ्जालको दृष्टिबाट हेर्ने पुस्तक हो। ढुङ्गायुगदेखि कृत्रिम बुद्धिमत्तासम्म, मानिसहरूले कसरी ज्ञान बाँडे, विचार साटे, र नेटवर्क बनाए भन्ने कुराको गहिरो विश्लेषण यसमा छ।
लेखकले भाषा, लेखन, मुद्रण, टेलिग्राफ, इन्टरनेट र अहिलेको एआईसम्मको यात्रालाई जोडेर देखाएका छन्। पुस्तकले सूचना सञ्जालले मानव समाज, राजनीति, अर्थतन्त्र र संस्कृतिलाई कसरी परिवर्तन गर्यो भन्ने स्पष्ट पार्छ।
भविष्यमा एआई र डिजिटल नेटवर्कले हाम्रो जीवनलाई कहाँ पुर्याउने हो भन्ने प्रश्न पनि यसमा उठाइएको छ। इतिहास, प्रविधि र समाजको अन्तरसम्बन्ध बुझ्न चाहने पाठकका लागि यो पुस्तक प्रेरणादायी मार्गदर्शक हो।
द साइकोलोजी अफ मनी पुस्तक अमेरिकी लेखक मोर्गन हाउसेलद्वारा लेखिएको हो। यो पुस्तक पैसाको मनोविज्ञान र व्यक्तिगत वित्तीय निर्णयको महत्वपूर्ण पक्षमा केन्द्रित छ। लेखकले आर्थिक व्यवहार, बचत, लगानी, जोखिम व्यवस्थापन, र दीर्घकालीन वित्तीय सफलता प्राप्त गर्नका लागि मनोवैज्ञानिक पक्षहरूको प्रभावलाई सरल उदाहरणसहित बुझाएका छन्। पैसासँग सम्बन्धित हाम्रो व्यवहार र सोचाइका कारण हुने गल्तीहरू र सफलताका उपायहरू यस पुस्तकमा स्पष्ट छन्। पाठकले आफ्ना वित्तीय निर्णयमा सन्तुलन र धैर्य कायम राख्न र पैसालाई समझदारीपूर्वक प्रयोग गर्न सिक्न सक्छन्।
The Hundred Years’ War on Palestine – Rashid Khalidi
रशीद खलिदीद्वारा लेखिएको The Hundred Years’ War on Palestine केवल इतिहासको पुस्तक मात्र होइन । प्यालेष्टिनको संघर्षको एक गहिरो साक्ष्य हो। लेखक स्वयं प्यालेष्टिनी मूलका इतिहासकार हुन् । उनले एक शताब्दीभन्दा बढी समयदेखि जारी प्यालेष्टिनीमाथि भएको राजनीतिक, कूटनीतिक र सैनिक आक्रमणहरूको विस्तृत विश्लेषण गरेका छन्।
पुस्तकमा ब्रिटिश म्यान्डेटदेखि इस्रायली कब्जा, अमेरिकी हस्तक्षेपदेखि अरब देशहरूको भूमिका र प्यालेष्टिनी जनताले भोग्नुपरेको पीडा र प्रतिरोधलाई ऐतिहासिक दृष्टिले प्रस्तुत गरिएको छ। खलिदीले व्यक्तिगत परिवारका अनुभवलाई पनि कथामा पिरोएर यसलाई अझ जीवन्त बनाएका छन्। यो पुस्तक फिलिस्तीन–इजरायल संघर्ष बुझ्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता र पाठकका लागि महत्त्वपूर्ण दस्तावेज हो।
Prisoners of Geography – Tim Marshall
टिम मार्शलद्वारा लेखिएको Prisoners of Geography भूगोलले कसरी विश्व राजनीतिलाई आकार दिन्छ भन्नेबारेको गहिरो पुस्तक हो। लेखकले ठूला राष्ट्रहरूको शक्ति, संघर्ष र रणनीति भूगोलसँग कसरी बाँधिएको छ भन्ने कुरालाई सरल भाषामा व्याख्या गरेका छन्।
पुस्तकमा रूसको चिसो भूभागदेखि चीनको सीमाबन्दी, अमेरिका, यूरोप, मध्यपूर्व, अफ्रिका, भारत र कोरियासम्मका भूराजनीतिक सन्दर्भलाई विश्लेषण गरिएको छ। पहाड, नदी, समुद्र र जलवायु जस्ता प्राकृतिक सीमाहरूले कसरी देशहरूको नीतिनिर्माण, युद्ध र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावित गर्छन् भन्ने कुरामा पुस्तक केन्द्रित छ।


































