चितवन । धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि अलपत्र रहँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिउको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो ।
आज एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ ।
रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।
यसअघि, बागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।


































