काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । पूर्वराजा शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टीका लगाइदिएका हुन् । सो अवसरमा पूर्वयुवराज पारस शाहको पनि उपस्थिति रहेको थियो ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।
त्रेता युगमा आजकै दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दसैँ) को सबैभन्दा महत्त्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिइन्छ ।


































