काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ ।। नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ ।
निगमले मूल्यवृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज (बिहीबार) मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ ।त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।





































