काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट बोनस सेयर वा नगद लाभांश कुनै पनि नबाँड्ने निर्णय गरेको हो। संस्थाका अनुसार हालको वित्तीय अवस्था, पूँजी सुदृढीकरणको आवश्यकता तथा आगामी रणनीतिलाई ध्यानमा राख्दै लाभांश वितरण नगर्ने निर्णय गरिएको जनाइएको छ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक मा पेश गर्ने निर्णय समेत गरेको छ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाहरूले लाभांश वितरण गर्नुअघि केन्द्रीय बैंकबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार फरवार्ड माइक्रोफाइनान्सले आफ्नो वार्षिक वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने प्रक्रिया अघि बढाएको हो।
पछिल्लो समय लघुवित्त क्षेत्रमा कर्जा असुलीमा चुनौती देखिनु, खराब कर्जा बढ्नु तथा वित्तीय सन्तुलन कायम राख्नुपर्ने अवस्था देखिएकाले केही संस्थाहरूले लाभांश वितरणमा संयम अपनाइरहेका छन्। फरवार्ड माइक्रोफाइनान्सले पनि यिनै अवस्थालाई ध्यानमा राख्दै यस वर्ष लाभांश नबाँड्ने निर्णय गरेको जनाएको छ।
































