काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ ।
प्राधिकरणमा कार्यभार सम्हाल्नुहुँदै अध्यक्ष पोखरेलले बीमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै बीमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिनुभयो ।
अध्यक्ष पोखरेलले बीमा सचेतना मार्फत बीमाको पहुँच बढाउन, बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बीमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष पोखरेललाई स्वागत गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा ऐन, नियमले प्राधिकरणलाई सुम्पिएको दायित्व पूर्ण प्रतिवद्धता साथ निर्वाह गर्दै आएको बताउनुभयो ।
यसअघि, अध्यक्ष सेवन्तक पोखरेल प्राधिकरणमा आउनुहुँदा उहाँलाई प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।


































