काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपाली बैंकिङ क्षेत्रमा शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या उल्लेख्य रूपमा घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार हाल देशभर जम्मा ८०० वटा शाखारहित सेवा केन्द्र सञ्चालनमा छन् ।
तीमध्ये वाणिज्य बैंकका ७९६, विकास बैंकका ४ र फाइनान्स कम्पनीका शून्य सेवा केन्द्र रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकका १ हजार ७२२, विकास बैंकका १७ र फाइनान्स कम्पनीका शून्य गरी कुल १ हजार ८९ स्थानमा शाखारहित बैंकिङ सेवा केन्द्र सञ्चालनमा थिए ।
यससँगै शाखारहित बैंकिङ सेवाग्राहीको संख्या पनि घटेको देखिएको छ । चालू आवको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकमा २ लाख ७६ हजार ८ र विकास बैंकमा ५४७ गरी कुल २ लाख ७६ हजार ५५५ जना सेवाग्राही रहेका छन् । जबकि गत आवको सोही अवधिमा वाणिज्य बैंकमा २ लाख ९७ हजार २२९ र विकास बैंकमा १ हजार ३६३ गरी कुल २ लाख ९८ हजार ५९२ जना शाखारहित सेवाग्राही रहेका थिए ।
यद्यपि, डिजिटल बैंकिङतर्फ आकर्षण भने तीव्र रूपमा बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ३ करोड नजिक पुगेको छ । चालू आवको कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनी गरी कुल ५४ वित्तीय संस्थामा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८६ लाख १ हजार ४८८ पुगेका छन् ।
यसमा वाणिज्य बैंकका २ करोड ४५ लाख २७ हजार १२४, विकास बैंकका ३७ लाख ६५ हजार ६९ र फाइनान्स कम्पनीका ३ लाख ९ हजार २९५ जना ग्राहक रहेका छन् । गत आवको सोही अवधिमा भने कुल मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ५७ लाख ५८ हजार २४२ थिए ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । पछिल्लो तथ्यांकअनुसार देशभर २३ लाख २६ हजार १९८ जना इन्टरनेट बैंकिङ ग्राहक रहेका छन् । जसमध्ये वाणिज्य बैंकमा १६ लाख ९८ हजार ४०५, विकास बैंकमा ६ लाख ८ हजार ४४९ र फाइनान्स कम्पनीमा १९ हजार ३४४ ग्राहक छन् ।
गत आवको सोही अवधिमा भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २० लाख ५७ हजार ४३८ मात्र रहेको थियो । राष्ट्र बैंकको तथ्यांकले शाखारहित सेवा घट्दै गए पनि मोबाइल र इन्टरनेट बैंकिङमार्फत डिजिटल वित्तीय सेवाको पहुँच तीव्र रूपमा विस्तार भइरहेको प्रस्ट पारेको छ ।


































