काठमाडौं । आज पुस १८ गतेका दिन बोटलर्स नेपाल तराई, हिमालयन डिस्टिलरी सहित ८ वटा कम्पनीको नगद लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । पुस १९ गते र पुस २१ गते साधारण सभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेका ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
जस अनुसार बोटलर्स नेपाल तराई, हिमालयन डिस्टिलरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, मेरो माइक्रो फाइनान्स, लुम्बिनी विकास बैंक, कालिका पावर कम्पनी , कालिका लघुवित्त र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सूर्योदय वोमी लघुवित्त बाहेक अन्यले पुस १९ गते बुक क्लोज गर्दैछन् आजसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।
हेर्नुस् कुनले कति लाभांश प्रस्ताव गरेका छन्।
हिमालयन डिस्टिलरीले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफा समेतबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
मेरो माइक्रोफाइनान्सले पनि गत आवकालागि ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ। कम्पनीको यो लाभांश आगामी माघ ४ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन हुने भएको छ ।
यस्तै, कालिका लघुवित्तले गत आवका लागि सेयर धनीहरूलाई कुल १० प्रतिशत लाभांशको घोषणा गरेको छ। कुल लाभांशमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ। संस्थाले लाभांश पारित गर्न पुस २९ गते पोखरामा रहेको होटल टाक्स इन्टरनेसनलमा सभा डाकेको छ।
कालिका पावरले आव २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफासमेत बाट कम्पनीका सेयर धनीहरूलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बोटलर्स नेपाल९तराई०लिमिटेडले ५० प्रतिशत अर्थात् प्रति साधारण कित्ता ५० रुपैयाँका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी पुस २६ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गरी सेयर धनीहरूलाई वितरण गरिनेछ।
सूर्योदय वोमी लघुवित्तले हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । संस्थाले ललितपुरमा रहेको लुभु पार्टी प्यालेसमा पुस २८ गते साधारण सभा आयोजना गर्दैछ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको मुनाफाबाट विद्यमान चुक्तापूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको साधारण सभा पुस २९ गते आयोजना हुँदै छ ।
यस्तै लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट शेयर धनीलाई हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) र ३ प्रतिशत बोनस सेयर गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

































