काठमाडौँ । विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूले बुधवार एक साथ शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उनीहरूको शपथ ग्रहण गराइएको हो ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा.कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा.नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले एकसाथ शपथ लिएका हुन् ।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरूलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए । शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको समेत उपस्थिति रहेको थियो ।


































