काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को करिब १० महिना पूरा हुन लाग्दा सरकारले कुल बजेटको ५८.७५ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँमध्ये हालसम्म ११ खर्ब ५३ अर्ब रुपैयाँ खर्च भएको छ।
खर्च संरचनामा चालु खर्चको हिस्सा सबैभन्दा बढी देखिएको छ।
त्यसैगरी, पुँजीगत खर्च भने अपेक्षाकृत कमजोर देखिएको छ। पूर्वाधार विकासका लागि छुट्याइएको ४ खर्ब ७ अर्बमध्ये हालसम्म १ खर्ब ९ अर्ब रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल पुँजीगत बजेटको २६.८७ प्रतिशत मात्र हो।
पुँजीगत खर्च कमजोर हुनुमा निर्माण सामग्री अभाव, बाह्य आपूर्ति समस्या तथा आयोजना कार्यान्वयनमा देखिएको सुस्तता मुख्य कारणका रूपमा उल्लेख गरिएको छ। वित्तीय व्यवस्थातर्फ भने ३ खर्ब ७५ अर्बमध्ये २ खर्ब ४० अर्ब रुपैयाँ खर्च भइसकेको छ।
राजस्व संकलनतर्फ पनि लक्ष्यअनुसार प्रगति देखिएको छैन। १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्र संकलन भएको छ।

































