काठमाडौँ। सूर्यमुखी तेल ब्रान्ड ‘छहारी’ र ‘ओमकार’ नामका सूर्यमुखी तेल उत्पादन गर्दै आएको ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार श्रेष्ठलाई बिहीबारदेखि प्रहरी हिरासतमा राखिएको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार मापदण्ड विपरीत कम मात्रामा तेल प्याकेजिङ गरी बिक्री गरेको आरोपमा पक्राउ गरेको थियो।
पक्राउपछि श्रेष्ठलाई थप अनुसन्धानका लागि ललितपुर प्रहरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानले ललितपुरको गोदावरी नगरपालिका–५, लेलेस्थित महादेव खोलामा रहेको उद्योगबाट एक लिटर र आधा लिटरका प्याकेटमा तोकिएकोभन्दा कम परिमाणमा तेल भरेर बजारमा पठाइएको देखिएको छ।
विशेष सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा प्रहरीले ९०५ कार्टुन सूर्यमुखी तेल समेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्याद थप गरिएको र आवश्यक प्रक्रिया अघि बढाइएको एसपी मिश्रले जानकारी दिएका छन्।


































