काठमाडौं । हिमाल आरोहणको सिजन चलिरहेका बेला मनाङको हिमलुङ हिमालमा हिमपहिरो गएको छ। हिमपहिरोमा परी १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी आएको छ।
मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा भएको घटनाबारे एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालले जानकारी प्राप्त गरेको हो।
एसोसिएसनका अनुसार दुई फरक आरोहण कम्पनीका १० जना सम्पर्कविहीन भएका छन्।
हिमलुङ हिमालको बेसक्याम्पमा २४ जना आरोही पुगेका थिए। तीमध्ये हिमाल आरोहणका लागि सबैभन्दा अगाडि पुगेका १० जना सम्पर्कमा नरहेको बताइएको छ।
आरोहणको मुख्य सिजन भएकाले अन्य आरोहीहरू पनि हिमलुङ हिमालतर्फ पुगेका छन्। घटनापछि उनीहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।
पर्यटन विभागले पनि हिमपहिरोमा १० जना सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जनाएको छ। विभागका महानिर्देशक रामकृष्ण लामिछानेले घटनाबारे थप विवरण संकलन गर्ने तथा सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउन र उद्धारका लागि आवश्यक समन्वय भइरहेको बताए।
घटनाको विस्तृत विवरण तथा सम्पर्कविहीनहरूको अवस्थाबारे यकिन जानकारी आउन बाँकी छ।































