National life
cg eloctronics

भारतीय पर्यटक तान्दै लुम्बिनी केबलकार, वसन्तपुरमा थपिँदै होटल र मनोरञ्जन पूर्वाधार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|११ कात्तिक २०८३, बुधबार
1KShares
भारतीय पर्यटक तान्दै लुम्बिनी केबलकार, वसन्तपुरमा थपिँदै होटल र मनोरञ्जन पूर्वाधार
muktinatha bikash bank

काठमाडौं। लुम्बिनी केबलकार चढ्ने भारतीय पर्यटकको संख्या एक वर्षमै २४ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा केबलकार प्रयोग गर्ने कुल पर्यटकमध्ये भारतीयको हिस्सा २९ प्रतिशत पुगेको कम्पनीले जनाएको छ। भारतीय पर्यटकको आकर्षण बढेसँगै कम्पनीले पाल्पाको वसन्तपुरमा पाँचतारे स्तरको होटल, क्यासिनो र थप मनोरञ्जनात्मक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको मंगलबार सम्पन्न २३औँ वार्षिक साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भारतीय पर्यटकको आगमन बढिरहेको जानकारी दिएका हुन्।

उनका अनुसार भारतको उत्तर प्रदेश, दिल्ली, झारखण्ड, बिहार, केरला र आन्ध्र प्रदेशलगायत क्षेत्रबाट पर्यटक लुम्बिनी केबलकार चढेर पाल्पाको वसन्तपुर डाँडा पुग्ने गरेका छन्। त्यहाँस्थित कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमणका लागि भारतीय पर्यटकको आकर्षण बढेको कम्पनीको भनाइ छ।

भारतीय पर्यटकको आगमन थप बढाउन कम्पनीले सीमावर्ती क्षेत्रका यातायात चालकलाई लक्षित गरी विशेष व्यवस्था गरेको छ। साथै, भारतीय भ्लगरमार्फत प्रचारप्रसारलाई तीव्र बनाइएको कम्पनीले जनाएको छ।

everest bank

लुम्बिनी केबलकारको माथिल्लो स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको होटल र क्यासिनो निर्माणको प्रक्रिया अन्तिम चरणतर्फ अघि बढेको छ। कम्पनीका अनुसार होटलको नक्सापास प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने आवश्यक खानेपानी आपूर्तिको व्यवस्थापन पनि आंशिक रूपमा पूरा भएको छ।

पर्यटकको बसाइ अवधि र मनोरञ्जनका अवसर बढाउने उद्देश्यले कम्पनीले आगामी आर्थिक वर्षमा रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडलगायत मनोरञ्जनात्मक सुविधा थप गर्ने योजना बनाएको छ।

पर्यटक आकर्षित गर्न कम्पनीले बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी संघसंस्था तथा ४५ भन्दा बढी शिक्षण संस्थासँग सहकार्य गरेको छ। भाटभटेनी सुपरमार्केट, क्यूएफएक्स सिनेमा, लुम्बिनी विकास कोष र शंकरनगर वन विहारसँग पनि टिकट छुट तथा पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौता गरिएको कम्पनीले जनाएको छ।

विश्वव्यापी भूराजनीतिक अस्थिरता र बजार मूल्यवृद्धिको दबाबका बाबजुद खर्च नियन्त्रण तथा मितव्ययिता कायम गरिएको कम्पनीको भनाइ छ। साथै, भविष्यमा सञ्चालनमा आउने अन्य केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान गरिरहेको कम्पनीले उल्लेख गरेको छ।

भारतीय पर्यटकको बढ्दो आगमनसँगै होटल, क्यासिनो र मनोरञ्जनात्मक पूर्वाधार विस्तार गरेर लुम्बिनी केबलकारलाई धार्मिक तथा मनोरञ्जन पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?