काठमाडौँ : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न जिल्लामा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।”
आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी गराएका छन् ।
कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो। यस अगाडि गृहमन्त्री रवि लामिछानेले देशभरका जंगलमा भएको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गर्ने विषयमा चासो देखाएका थिए ।


































