काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा असोज २ गते शुक्रबार आयोजना गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको ५२८औँ बैठकको निर्णयअनुसार साधारणसभा काठमाण्डौको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रालिमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
त्यस्तै, ती आर्थिक वर्षका लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरणका अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने कार्यसूची पनि राखिएको छ।
साधारणसभाले महालेखापरीक्षकको कार्यालयको परामर्शअनुसार सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिकसमेत अनुमोदन गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजअघि कायम सेयरधनीले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन्।
































