काठमाडौं । चालु आर्थिक वर्षको साढे पाँच महिनामा करिब ३ लाख किसान ‘किसान सूचीकरण प्रणाली’मा थपिएका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार वैशाख १ देखि असोज १२ गतेसम्म २ लाख ९४ हजार ९ सय ८८ नयाँ किसान प्रणालीमा दर्ता भएका हुन्। यससँगै देशभर सूचीकरण भएका किसानको संख्या २६ लाख ७९ हजार पुगेको छ।
वास्तविक किसानको पहिचान तथा कृषि क्षेत्रको योजना निर्माणलाई तथ्यांकमा आधारित बनाउन मन्त्रालयले सूचीकरण अभियानलाई तीव्रता दिएको जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म ८ लाख ८२ हजार किसानको प्रमाणीकरण भइसकेको छ। यस्तै, १ सय २३ पालिकामा किसान सूचीकरणको काम पूर्ण भएको छ।
सूचीकरण भएका किसानको तथ्यांकलाई आधार बनाएर वर्गीकरणसमेत सुरु गरिएको मन्त्रालयले जनाएको छ। प्रमाणीकरण पूरा नभएका किसानलाई भने हाल परिचयपत्र उपलब्ध गराउन नसकिने स्पष्ट पारिएको छ।

































