काठमाडौं- अलैँचीको मुख्य सिजनमै बजार मूल्य निरन्तर ओरालो लागेपछि धनकुटाका किसान चिन्तित बनेका छन्। भदौको पहिलो साता प्रतिमन ९८ हजार रुपियाँमा कारोबार सुरु भएको अलैँचीको मूल्य अहिले ८५ हजार रुपियाँमा झरेको छ। एक महिनाको अन्तरालमा अलैँचीको मूल्य प्रतिमन १३ हजार रुपियाँले घटेको हो।
पाख्रीबास नगरपालिका-१ सान्नेका कृषक निर्मल स्याङ्देनले उत्पादन बजारमा ल्याउने समयमै मूल्य घटेकाले समस्या भएको बताउनुभयो। दसैँअघिको यो समय अलैँचीको मुख्य सिजन मानिन्छ।
व्यापारी श्याम शाहका अनुसार नेपालको अलैँचीको मूल्य निर्धारण भारतीय बजारमा निर्भर हुने गर्दछ। असोजको पहिलो साता वर्षाका कारण आपूर्ति कम हुँदा मूल्य केही बढे पनि भारतको सिक्किम तथा आसामबाट अलैँची बजारमा आउन थालेपछि मूल्य अझ घट्ने सम्भावना रहेको उहाँले बताउनुभयो।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाका अनुसार भारतमा उत्पादन घटे मात्र नेपाली अलैँचीले उचित मूल्य पाउने अवस्था छ। धनकुटाका विभिन्न नगरपालिका र गाउँपालिकामा करिब १३३ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ, जसबाट वार्षिक ४२ मेट्रिक टन उत्पादन हुने गरेको छ।
































