काठमाडौँ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु–स्मार्ट कृषि प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य भएको बताएकी छन्। नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको सुरुवाती कार्यशालामा बोल्दै उनले कृषि क्षेत्रको रूपान्तरणका लागि बाह्य सहयोगको आवश्यकता औँल्याइन्।
उनका अनुसार सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण तथा जलवायु–मैत्री प्रविधिको प्रयोगमार्फत अगाडि बढाउने लक्ष्य राखेको छ। यसका लागि चीन सरकार, सिडका, एफएओ लगायतका विकास साझेदारसँग सहकार्य आवश्यक रहेको उनले स्पष्ट पारिन्।
मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रमा अझै पनि न्यून उत्पादन, जलवायु परिवर्तनका प्रभाव, प्राकृतिक विपद्, युवा जनशक्तिको वैदेशिक पलायन तथा प्रविधि र बजारमा सीमित पहुँचजस्ता चुनौती विद्यमान रहेको उल्लेख गरिन्। साथै, अन्तर्राष्ट्रिय स्तरका परीक्षण प्रयोगशालाको अभावले कृषि उपज निर्यातमा समस्या सिर्जना गरेको भन्दै सरकारले यस्ता पूर्वाधार विकासलाई प्राथमिकता दिएको जानकारी दिइन्।
उनले नवप्रवर्तन र जलवायु–स्मार्ट प्रविधिको उपयोगमार्फत उत्पादन वृद्धि, समावेशी आर्थिक विकास तथा महिला र सीमान्तकृत समुदायको सशक्तीकरण सरकारको मुख्य लक्ष्य भएको बताइन्। सिडकाको सहयोगमा सुरु भएको उक्त परियोजनाले कृषि प्रणालीलाई दिगो र प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरिन्।
मन्त्री चौधरीले नेपाल–चीन सम्बन्धलाई ऐतिहासिक र मैत्रीपूर्ण बताउँदै चीनको कृषि आधुनिकीकरण अनुभव नेपालका लागि उपयोगी हुन सक्ने धारणा राखिन्। ज्ञान र प्रविधिको आदान–प्रदानले कृषि क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।



































