काठमाडौं । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेका सवारी साधनहरूलाई विशेष कर छुट दिने निर्णय गरेको छ। गत पुस १६ गते मन्त्रिपरिषद्ले गरेको निर्णय प्रदेश सरकारद्वारा राजपत्रमा प्रकाशित हुँदै प्रभावकारी भएको हो।
निर्णय अनुसार, जेनजी आन्दोलनका क्रममा आगजनी वा तोडफोडका कारण पूर्ण रूपमा क्षति भएका सरकारी, निजी, पर्यटकीय तथा सार्वजनिक सवारी साधनका मालिकले चालु आर्थिक वर्ष २०८२/८३ को सवारी कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट पाउने भएका छन्।
सार्वजनिक सवारी साधनको लागि थप सहुलियत पनि प्रदान गरिएको छ।
जेनजी आन्दोलनका कारण यातायात कार्यालयको सेवा अवरुद्ध भएको अवधिमा राजस्व तिर्ने अन्तिम म्याद परेका सवारी साधन मालिकहरूले आगामी माघ मसान्तसम्म दस्तुर बुझाएमा बाटो इजाजत पत्र र जाँच पास नवीकरणमा लाग्ने जरिवाना तथा थप जरिवाना पनि छुट पाउने व्यवस्था गरिएको छ।
यो निर्णयले आन्दोलनका समयमा क्षति पुगेका सवारी साधनका मालिकहरूलाई राहत दिने मात्र नभएर, यातायात व्यवस्थापनमा थप सहजता र विश्वास स्थापना भएको सरकारको भनाई छ ।


































