काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ। अब उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्र छुट्ने व्यवस्था कार्यान्वयनमा ल्याइने भएको हो।
हाल लामो दूरीका सवारी साधनले सडक किनारमै यात्रु चढाउने–ओराल्ने काम बढाएपछि विशेषगरी पिक आवरमा ट्राफिक जाम तीव्र रुपमा बढ्ने गरेको छ। सडकमा अनावश्यक भीड वाढेपछि सर्वसाधारणको आवागमनमा समस्या परेको भन्दै नियम कडाइ गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिक प्रहरीको भनाई छ।
यसैसँग लामो दूरीका सवारीलाई दिइँदै आएको बाटो इजाजतपत्र (रुट परमिट) पुनरावलोकन गर्ने तयारी पनि भइरहेको छ। उपत्यकाको समग्र ट्राफिक व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायबीच समन्वय र आवश्यक पहल अघि बढाइने जानकारी दिइएको छ।
सडक अनुशासन मजबुत बनाउन रातो बत्ती उल्लङ्घन, लेन क्रस, तीव्र गति तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई लक्षित गर्दै अनिवार्य सचेतना कक्षा सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीको सहजताको लागि अनलाइन सचेतना कक्षा पनि सुरु गरिएको छ।


































