काठमाडौँ। श्रीलंकामा ऊर्जा संकट तीव्र बन्दै गएपछि राष्ट्रपति अनुराकुमार दिसानायकले विद्युतीय सवारी EV मालिकहरूलाई रातको समयमा गाडी चार्ज नगर्न आग्रह गर्नुभएको छ। बढ्दो विद्युत् मागले राष्ट्रिय ग्रिडमा दबाब सिर्जना गरेकाले यस्तो कदम उठाइएको हो।
राष्ट्रपतिले बताए अनुसार, धेरै ईभी मालिकहरूले राति घर फर्किएपछि गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० मेगावाट अतिरिक्त माग थपिएको छ। यसले विद्युत् आपूर्तिमा असन्तुलन सिर्जना गरी सबै उत्पादन स्रोतहरू सञ्चालन गर्न बाध्य बनाएको छ।
हाल रातिको समयमा देशले करिब ९०० मेगावाट कोइला र १ हजार मेगावाट डिजेलबाट विद्युत् उत्पादन गर्दै आएको छ। यसलाई वातावरणमैत्री उपाय नभएको पनि सरकारी अधिकारीहरूले स्वीकार गरेका छन्। यस्तो परिस्थितिले विद्युतीय सवारीलाई “स्वच्छ ऊर्जा”को प्रतीक मान्ने धारणा विपरीत देखाएको छ।
सरकारले पर्याप्त सौर्य ऊर्जा भए पनि ठूलो स्तरको ब्याट्री भण्डारण प्रणाली नहुँदा दिनमा उत्पादन भएको अतिरिक्त ऊर्जा सुरक्षित गर्न नसकिएको जनाएको छ। त्यसैले राष्ट्रपति दिसानायकले दिनको समयमा सौर्य ऊर्जा प्रयोग गरी गाडी चार्ज गर्न आम नागरिकलाई आग्रह गर्नुभएको छ। साथै, रातको चार्जिङलाई नियन्त्रित गर्न चाँडै शुल्क प्रणाली लागू गर्ने योजना बनाइएको छ।
विद्युतीय सवारीको संख्या देशमा तीव्र रूपमा बढिरहेको छ। गत वर्ष फेब्रुअरीमा पाँच वर्षदेखि लागु सवारी आयात प्रतिबन्ध हटाइएपछि आयात गरिएका सवारीमध्ये १० प्रतिशतभन्दा बढी पूर्ण रूपमा विद्युतीय छन्।
मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न ऊर्जा संकटले श्रीलंका अझ प्रभावित भएको छ। सरकारले इन्धन अभाव नियन्त्रण गर्न रेशनिङ सुरु गरेको छ र चार दिने कार्यसप्ताह लागू गरेको छ। राष्ट्रपति दिसानायकले युद्धका कारण ९० हजार टन कच्चा तेलका दुई ढुवानी प्राप्त गर्न नसकिएको र परिष्कृत पेट्रोलियम पदार्थका लागि भारत र रूससँग वार्ता भइरहेको जानकारी पनि दिनुभयो।
श्रीलंकामा ऊर्जा बचत अभियानको असर स्वरूप बुधबार देशका सडकहरू सामान्यभन्दा सुनसान देखिएका थिए। विद्यालय, सरकारी कार्यालय र बैंक बन्द हुँदा रेल र बस स्टेसनहरूमा पनि भिड घटेको थियो।

































