काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालमा विद्युतीय गाडी (इभी) आयातमा गिरावट आएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार उक्त अवधिमा विभिन्न क्षमताका कुल ५ हजार ७१ वटा इभी नेपाल भित्रिएका छन्, जुन गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ७.४६ प्रतिशतले कम हो।
गत आवको पुस मसान्तसम्ममा ५ हजार ४ सय ८० वटा इभी नेपाल आयात भएका थिए।
गत आवको पुससम्ममा इभी आयातका लागि व्यवसायीहरूले १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ खर्च गरेका थिए। आयात तथा खर्च दुवैमा कमी आएसँगै सरकारको राजस्व संकलन पनि घटेको देखिएको छ। भन्सार विभागका अनुसार चालु आव २०८२/८३ को पुससम्म इभी आयातमार्फत सरकारले ७ अर्ब ४५ करोड ७९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत आवको सोही अवधिमा संकलित ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँको तुलनामा ८.६३ प्रतिशतले कम हो।
देशगत रूपमा हेर्दा समीक्षा अवधिमा सबैभन्दा धेरै इभी चीनबाट आयात भएका छन्। विशेषगरी ५१ किलोवाटदेखि १०० किलोवाटसम्म क्षमताका विद्युतीय कार, जीप तथा भ्यान चीनबाट मात्रै २ हजार २ सय ५५ वटा नेपाल भित्रिएका छन्। ती सवारी साधन आयात गर्न नेपाली व्यवसायीहरूले ५ अर्ब ८० करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको खर्च गरेका छन्। यस वर्गका इभी आयातबाट सरकारले ३ अर्ब ६८ करोड ८७ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यसैगरी, ५० किलोवाटसम्म क्षमताका इभीमध्ये चीनबाट १ हजार ६० वटा र भारतबाट ५ सय २५ वटा विद्युतीय कार, जीप तथा भ्यान नेपाल भित्रिएका छन्। १०१ किलोवाटदेखि २०० किलोवाटसम्म क्षमताका इभी चीनबाट ४१४ वटा आयात भएका छन् भने थाइल्याण्डबाट ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ४०१ वटा इभी नेपाल आएका छन्।
यसै अवधिमा भारतबाट ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ३६० वटा र १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका २८ वटा इभी आयात भएका छन्। यस्तै, अमेरिकाबाट १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका १० वटा, जर्मनीबाट ९ वटा, कोरियाबाट २ वटा इभी नेपाल भित्रिएका छन्।
उच्च क्षमताका इभीतर्फ चीनबाट पिक पावर २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा, अमेरिका र अष्ट्रेलियाबाट समान १/१ वटा इभी आयात भएका छन्। त्यस्तै, बेलायतबाट ५१ किलोवाटदेखि १०० किलोवाटसम्म क्षमताको एउटा मात्र इभी नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। समग्रमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा इभी आयात, त्यसमा भएको खर्च र सरकारको राजस्व संकलन तीनै सूचकमा गिरावट देखिएको छ।


































