काठमाडौँ। दसैँका लागि भनेर काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठुलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरूको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
घटस्थापनादेखि काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेको हो । बिहीबार दिउँसो १२ बजेसम्म बस, माइक्रो, ट्रक, निजी सवारी साधन र मोटरसाइकल गरी आठ सय २० सवारी साधन काठमाडौँबाट बाहिरिएका ती सवारी साधनमा १३ हजार पाँच सय तीन जना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
उनका अनुसार आज दिउँसो १२ बजेसम्म पाँच सय ४४ सवारी साधन काठमाडौँ भित्रिएका र त्यसमा सवार छ हजार पाँच सय ५४ यात्रु काठमाडौँ प्रवेश गरेका छन् । प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या पनि अधिक रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।



































