काठमाडौँ। यहीँ साउन ५ गते देशकै ठुलो साइकल जात्रा ‘कोरा २०२४’ को १४ औँ संस्करण आयोजना हुने भएको छ । उक्त साइकल जात्रा करिब ४ हजार साइकलयात्रीले नेपालको १५ भन्दा बढी स्थानमा २ लाख किलोमिटर भन्दा बढी दुरी तय गर्ने भएका छन् ।
प्रत्येक वर्ष जस्तै यो वर्ष पनि साइकलयात्रीहरुले सामाजिक कामको लागि रकम पनि संकलन गर्ने आयोजकको भनाई रहेको छ । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकल पम्प ट्र्याक जस्तै नेपालगन्जमा रहेको पम्प ट्र्याक सुधार गर्न प्रयोग गरिनेछ ।
साइकलयात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा यो वर्षको काठमाडौँ कोरामा ललितपुर महानगरपालिका पनि सह–आयोजकको रूपमा सहभागी भएको छ ।
सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौँ कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगल बजारबाट सुरु भइ काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त्य हुने गर्छ ।


































