काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा पहिलो पटक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न भएको छ । एक्स्पो सोमबार साँझ सम्पन्न भएको हो । अवलोकनकर्ताहरूको उत्साहपूर्ण उपस्थितिका कारण एक्स्पोका लागि एक दिन थप गरिएको थियो । छ दिनसम्म चलेको एक्स्पोलाई १ लाखभन्दा बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।

नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले एक्स्पो अपेक्षाभन्दा सफल भएको बताउँदै नाइमा केवल बिक्री केन्द्रित नभई उपभोक्ता र नीतिगत विषयमा समेत सक्रिय रहने उल्लेख गरिन्।
एक्स्पोमा ५० भन्दा बढी सवारी ब्रान्ड सहभागी भएका थिए । चारपांग्रेतर्फ बीवाईडी, सिट्रोन, हुन्डाई, टोयोटा, फोक्सवागन, महिन्द्रा, एमजी, निसान लगायतका ब्रान्ड प्रदर्शनीमा सहभागी थिए भने दुईपांग्रेतर्फ एथर, केटीएम, बजाज, टिभिएस, गोगोरो, होन्डा, सेगवे–नाइनबोट, रोयल इनफिल्ड, याडिया, बिजीलगायतका मोटरसाइकल र स्कुटर ब्रान्ड सहभागी थिए। व्यावसायिक सवारीतर्फ चेरी वान्डा, डोङफेङ, कामा, सनलङ, किङलोङ लगायतका ब्रान्ड पनि प्रदर्शनीमा देखिएका थिए ।

चारपांग्रेतर्फ सबैभन्दा बढी व्यापार बीवाईडीले गरेको देखिएको छ। साइमेक्स इन्कका अनुसार बीवाईडीका ९५० युनिट गाडी बुकिङ भएका छन् । त्यसमा अट्टो१ मोडल प्रमुख रहेको छ। यस्तै ओमोडा जेको ३६७, लिप मोटर २६८, हुन्डाई करिब २५०, एमजी १५०, महिन्द्रा १००, टोयोटा ३२, ग्रेटवाल ३० र एलएस अटो ३७ युनिट गाडी बुक भएको जानकारी कम्पनीहरूले दिएका छन् । एक्स्पो अवधिभर कुल २ हजार २४६ वटा चारपांग्रे गाडी बुकिङ भएको बताइएको छ।
दुईपांग्रेतर्फ केटीएमका २००, एथरका १५०, चेतकका ९५, गोगोरोका ११०, ट्राइम्पका ८०, सिएफ मोटोका २६, जिहो स्कुटर ४० युनिट बुकिङ भएको छ। सबै दुईपांग्रे गाडीहरूको कूल बुकिङ ७०० युनिटभन्दा माथि पुगेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रम अवधिभर दैनिक ‘अटो संवाद’ कार्यक्रम, उपभोक्ता सचेतना तथा नीतिगत छलफल पनि गरिएको थियो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन २१ गते एक्स्पो उद्घाटन गरेका थिए।
व्यापारिक दृष्टिकोणले पनि एक्स्पो सफल भएको व्यवसायीहरूले बताएका छन्। वैद्य अर्गनाइजेसनका सुरेन्द्र वैद्यका अनुसार यसपटकको एक्स्पोले ब्रान्ड स्थापित गर्न मद्दत गरेको छ भने सहभागी व्यवसायी गौरव अग्रवालले आयोजक नै प्रदर्शक भएकोले अपनत्व महसुस भएको बताए। सेलेक्टेड स्टलहरू भएका कारण दर्शकका लागि सजिलो र व्यवस्थित भएको उनीहरूको भनाइ छ।

एक्स्पोमा सहभागी कम्पनीहरूले गाडीमा आकर्षक छुट दिएका थिए। जस्तै, निशान लिफ र जिकर एक्समा २० लाखसम्म, लिप मोटर सी१० र ओमोडा ई५ मा ७ लाख, मेक्सर मिफा ७ मा १० लाख, एमजी एस५ मा २ लाख ५० हजार छुट दिइएको थियो। करिब एक दर्जन मोडलमा १ लाखदेखि २ लाखसम्म छुट दिइएको जानकारी छ।
सार्वजनिक भएका नयाँ मोडलहरू :
बीवाईडी अट्टो १ (साइमेक्स इन्क) : डाइनामिक मोडल – २८ लाख ९५ हजार, प्रिमियम – ३२ लाख ९५ हजार
फोरथिङ फ्राइडे (लक्ष्मी ग्रुप) : लक्जरी – ४८ लाख ९६ हजार, एक्सक्लुसिभ – ५४ लाख ९६ हजार
लिप मोटर (एसपीजी अटोमोबाइल्स) : स्ट्यान्डर्डरलङ रेन्ज – ४९ लाख ९९ हजार
महिन्द्राको बीई६ – ५७ लाख, एक्सईभी ९ ई – ६९ लाख
जेको जे५ – ५६ लाख ९९ हजार
फोक्सवागन भर्चुज – प्रिमियम सेडानको रूपमा सार्वजनिक
त्यस्तै, दुईपांग्रेतर्फ एथर, बजाज चेतक, केटीएम, याडिया, बिजी, टिभिएस लगायतले पनि आफ्ना नयाँ मोडल सार्वजनिक गरेका छन् ।



































