काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट चाँडै नै कर्णाली प्रदेशका अन्य जिल्लामा उडान गर्ने तयारीमा लागेको बताएको छ ।
कार्यकारी अध्यक्ष समेत रहेका युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडान संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेको छ । छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गरेका छन्।
उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, सङ्घीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताएका छन् ।
नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबीच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीका लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने बिषयमा समेत छलफल भएको थियो। निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । “यसका लागि समिति पनि गठन गरिएको छ”, अध्यक्ष अधिकारीले भने ,“हामी सुर्खेतबाट हवाई सेवा दिन तयारी गरिरहेका छौँ ।”
छलफलको निष्कर्षमा उपप्रधानमन्त्री खड्काले पुनः जोड दिँदै निगम अधिकारीलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला र पायक पर्ने छिमेकी जिल्लाहरुमा समेत नेपाल एयरलाईन्सले नियमित हवाई सेवा संचालन गरी त्यहाँका जनताको वर्षौंदेखिको हवाई सेवा प्राप्त गर्ने आकाङ्क्षा पूरा गर्न विशेष जोड दिएका छन् ।


































