काठमाण्डौ । नेपाली बजारमा सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीकाअनुसार यो योजनाको फाइदा नेपाल अधिराज्यका सबै सिट्रोन शोरुम मार्फत लिन सकिन्छ। त्यस्तै, यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्नेछ । जसअनुसार ३६ लाख ५० हजार रुपैयाँ मूल्य राखिएको यो कार खरीदका लागि ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ तिरे पुग्छ ।
इलेक्ट्रिक कारको बर्चश्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन विभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन् । सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी ३ पेट्रोल भर्सन किन्न सकिने नौलो योजना ल्याएको कम्पनीले जानकारी दिएको छ।
फ्रान्सेली मूल र भारतमा बनेको सिट्रोन सि ३मा १२०० सीसीको पेट्रोल इन्जिन रहेको छ, जसले ८२ पीएस पावर र ११५ एनएम टर्क दिन्छ, ५ स्पीड म्यानअलु ट्रान्समिसनसँग जोडिएको छ। फ्रन्ट ह्वील प्रणालीले सुसज्जित यो गाडीमा १४० किमी घण्टाको टप स्पीडमा पुग्न सकिने कम्पनीले जनाएको छ भने यो गाडीले १९ किमी लिटरको प्रभावशाली माइलेज दिन्छ ।
आराम र सुरक्षाका लागि डिजाइन गरिएको सिट्रोन सि३ मा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, इबीडीसहितको एबीएस र डुअल एयरब्यागहरू छन। यो गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको कम्पनीले जनाएको छ।


































