काठमाडौं । भोटेकोशीमा आएको बाढी तथा देशका विभिन्न क्षेत्रमा भएको डुबानबाट अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने भएको छ।
बाढी तथा डुबानका कारण भन्सार नाकालगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी आएको नाडाले जनाएको छ।
नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ तथा प्रमाणित विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ। क्षतिको विवरणमा बाढीबाट क्षतिग्रस्त तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान, सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षतिलगायतका विवरण समावेश गर्न भनिएको छ।
यस्तै, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन नाडाले अनुरोध गरेको छ।
नाडाले प्राप्त विवरणका आधारमा सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने जनाएको छ।
विशेषगरी बीमा दाबी प्रक्रिया छिटो र सहज बनाउन बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग पहल गर्ने नाडाले जनाएको छ।
त्यसैगरी, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा समेत सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाको योजना छ।
अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाले जनाएको छ।
यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्यका समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताएका छन्।
नाडाले विपद्को यस कठिन परिस्थितिमा आफ्ना सदस्य व्यवसायीको साथमा रहेको जनाउँदै प्रभावित सबै सदस्यलाई क्षतिको यथार्थ विवरण समयमै उपलब्ध गराउन आग्रह गरेको छ।





































