काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेट तत्काल व्यवस्थापन गर्ने प्रतिबद्धता प्रधानमन्त्री बालेन शाहले जनाएका छन् । सोमबार सिंहदरबारमा प्रभावित जिल्लाका जनप्रतिनिधिसँग छलफल गर्दै उनले क्षतिग्रस्त सडक तथा पूर्वाधार पुनः सञ्चालनलाई प्राथमिकतामा राखेर राज्यका सबै निकाय परिचालन गर्ने बताएका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, तत्काल गर्नुपर्ने काम तथा पुनरुत्थानका योजनाबारे जनप्रतिनिधिबाट जानकारी र सुझाव लिएका थिए ।
जनप्रतिनिधिहरूले बाढीका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेकाले राहत र पुनर्निर्माणको काम प्रभावित भएको भन्दै क्षतिग्रस्त पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।
नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार त्रिशूली नदी र आसपासका करिब १९ वटा पुल बाढीले बगाएको छ । रसुवा, धादिङ र विदुर जोड्ने सडक अवरुद्ध हुँदा राहत तथा उद्धारमा समस्या भइरहेको उनले बताए ।
श्रेष्ठले होल्डिङ सेन्टरको चाप तथा सम्भावित महामारीको जोखिम कम गर्न प्रभावित परिवारलाई कोठा भाडामा सार्ने तयारी भइरहेको जानकारी दिए । नगरपालिकाले त्यस्ता परिवारलाई ६ महिनासम्म भाँडाकुँडा, ग्यास चुलो तथा सिलिन्डर र खाद्यान्नसहित प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने तयारी गरेको उनले बताए ।
त्रिशूली नदीपारि रहेको प्रदेशस्तरीय अस्पताल र प्रभावित बस्ती जोड्न तत्काल ह्युमपाइप डाइभर्सन तथा बेलीब्रिज निर्माण गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको श्रेष्ठले बताए ।
उनका अनुसार प्रधानमन्त्री शाहले तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक पूर्वाधार तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाढी प्रभावित क्षेत्रमा पुनः बस्ती विकास गर्दा सुरक्षित स्थानलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत छलफल भएको छ । सांस्कृतिक, ऐतिहासिक तथा कृषि परिवेशमा असर नपर्ने गरी सुरक्षित स्थानमा ल्यान्डपुलिङमार्फत व्यवस्थित बस्ती विकास गर्न सुझाव दिइएको श्रेष्ठले बताए ।
छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्य सहभागी थिए ।

































