काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिनको टिकट बिक्रीबाट संकलित रकम बाढी तथा पहिरोपीडितको राहतमा सहयोग गर्ने घोषणा गरेको छ।
नाडाका अनुसार आज साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि उपलब्ध गराइनेछ।
देशभर भइरहेको अविरल वर्षा तथा बाढीपहिरोका कारण धेरै परिवार प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै अटो शोको अन्तिम तीन घण्टालाई राहत अभियानमा जोड्ने निर्णय गरिएको नाडाले जनाएको छ।
नाडाका प्रतिनिधिले एकातर्फ अटो शोमार्फत सवारी साधन तथा प्रविधिको प्रदर्शनी भइरहेको र अर्कोतर्फ देशका विभिन्न क्षेत्रमा नागरिक प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले टिकट बिक्रीबाट प्राप्त रकम उपलब्ध गराउन लागिएको बताए।
आयोजकले काठमाडौंको भृकुटीमण्डपमा जारी अटो शोमा सहभागी भई राहत अभियानमा योगदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अन्तिम तीन घण्टामा टिकट खरिद गर्ने प्रत्येक अवलोकनकर्ताको सहभागिता विपद् प्रभावितका लागि सहयोग बन्ने नाडाको भनाइ छ।
संकलित रकम निष्पक्ष तथा पारदर्शी रूपमा आधिकारिक राहत कोषमार्फत प्रभावित क्षेत्रका पीडितसम्म पुर्याइने नाडाले जनाएको छ।


































