काठमाडौं। आज बसेको संसद् बैठकलाई सुचारु भएको केही समयमै विपक्षी दलहरूले अवरुद्ध गरेका छन् ।
बालकुमारी घटनाका दोषी ठहर भएका मन्त्रीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले आज संसद् बैठक अवरुद्ध गरेका हुन्।
माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौला ले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।
जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।
दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा भाग लिन पाएको भन्दै गत पुस १३ गते आन्दोलनमा उत्रिएका युवाहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीको दमनबाट दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

































