काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र एनएमबी बैकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिने भएको छ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे ।
नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।
जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।
सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्ग वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त गरी २० वर्षभन्दा बढी समयदेखि नेपाली वित्तीय बजारमा सञ्चालनमा रहेको एनएमबि बैंक लिमिटेड नेपालकै अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो ।


































