काठमाडौँ । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीहरूले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । प्रभु बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको हो ।
प्रभु बैंकले ल्याएको यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन् ।
क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय साबित हुने बैंकले जनाएकाे छ ।


































