काठमाडौं । पूर्वाधार विकास बैंकका रूपमा सञ्चालन भइरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षमा व्यवसाय विस्तार गरे पनि खुद नाफामा गिरावट बेहोरेको छ। ब्याज खर्च बढ्नु र खुद ब्याज आम्दानी घट्नुका कारण बैंकको नाफा प्रभावित भएको हो।
गत असार मसान्तसम्म बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको १ अर्ब २३ करोड ४० लाख रुपैयाँ को तुलनामा १९.९८ प्रतिशतले कम हो।
बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १ अर्ब ९० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर १ अर्ब ४४ करोड रुपैयाँ मा सीमित भएको छ। निक्षेप तथा ऋण उपकरणको लागत बढ्दा बैंकको ब्याज खर्च भने ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
बैंकले गत आर्थिक वर्षमा २१ करोड २७ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेपछि नाफामा थप ठूलो गिरावट हुनबाट राहत पुगेको छ।
कर्जा विस्तारमा सुधार
निफ्राले पूर्वाधार आयोजना तथा ग्राहकमा प्रवाह गरेको कर्जा विस्तार गरेको छ। बैंकको कर्जा लगानी २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
बैंकले हालसम्म ५६ अर्ब १३ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिसकेको जनाएको छ। आयोजनाको प्रगति र आवश्यकता अनुसार स्वीकृत कर्जा क्रमशः निकासा हुँदै जाने बैंकले जनाएको छ।
बैंकको निक्षेप सङ्कलन भने सामान्य वृद्धि भएको छ। अघिल्लो वर्षको ७ अर्ब ६८ करोड रुपैयाँ निक्षेप बढेर समीक्षा अवधिमा ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
निष्क्रिय कर्जा शून्य, वित्तीय सूचक बलियो
निफ्राको सबैभन्दा सकारात्मक पक्ष कर्जाको गुणस्तर रहेको छ। बैंकको निष्क्रिय कर्जा (NPL) शून्य प्रतिशत कायम रहेको छ, जुन नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय मानिन्छ।
बैंकको कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कस्ट अफ फन्ड्स ६.५१ प्रतिशतबाट घटेर ६.४६ प्रतिशत मा झरेको छ।
बैंकको बेस रेट ६.९७ प्रतिशतबाट घटेर ६.७७ प्रतिशत कायम भएको छ भने पछिल्लो तीन महिनाको औसत बेस रेट ६.७६ प्रतिशत रहेको छ। बैंकको सिडी रेशियो ७९.९२ प्रतिशत रहेको छ।
व्यवसाय विस्तार र कर्जा गुणस्तरमा सुधार देखिए पनि ब्याज आम्दानीमा आएको कमीका कारण निफ्राको नाफामा दबाब परेको वित्तीय विवरणले देखाएको छ।
































