काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकका नाममा रहेको बैंकिङ तथा गैर–बैंकिङ सम्पत्ति साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरुको लिलाम बिक्री प्रक्रियाबारे विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले एक अत्याधुनिक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
बैंकले संचालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिसम्बन्धी सबै प्रकारका विवरणहरू—कित्तानम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने सुविधा—एकै स्थानमा उपलब्ध छन्। प्रकाशन गरिएको लिलाम सूचनामा रहेको क्युआर कोड स्क्यान गरेपछि सो पोर्टलमा सिधै पहुँच प्राप्त गर्न सकिन्छ।
ग्राहकले पोर्टलमार्फत सम्पत्ति विवरण बुझिसकेपछि थप जानकारी आवश्यक परेमा सोही पृष्ठमा रहेको म्यासेज बक्स प्रयोग गरी आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गर्दै सन्देश पठाउन सक्ने व्यवस्था पनि बैंकले गरेको छ।
बैंकका अनुसार पोर्टलमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलामी सम्पत्तिसम्बन्धी सूचनाहरू नियमित रूपमा अद्यावधिक गरिनेछ। इच्छुक ग्राहकहरूले https://auctionassistance.nicasiabank.com मार्फत सम्पूर्ण जानकारी प्राप्त गरी सहज र पारदर्शी रूपमा सेवाको लाभ लिन सक्ने बैंकको विश्वास छ।

































