काठमाडाैं । कम्पनी रजिस्ट्रारको कार्यालयले कार्यप्रक्रियामा परिमार्जन गरेकाे छ । कम्पनी रजिस्ट्रारको कार्यालयका उच्च अधिकृतहरुको बैठकले कम्पनीको सेयर बाँडफाँड, किनबेच, लगत, चुक्तालगायतका कार्यप्रक्रियामा परिमार्जन गरेको हो ।
यससँगै अब सेयरधनीले कम्पनीलाई सेयरबापतको रकम बैंकमार्फत चुक्ता गर्नुपर्ने भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार अब सेयरधनीले कम्पनीलाई सेयरबापतको रकम चुक्ता गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत चुक्ता गरेको हुनुपर्नेछ ।
सेवा प्रवाहलाई व्यवस्थित र मर्यादित बनाई प्रचलित कानुनको परिपालना गराउने, सेवा प्रवाहको सिलसिलामा भएका द्विविधा तथा अस्पष्टतालाई हटाई एकरुपता काम गराउन कम्पनीहरुको आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन साबिकका प्रावधानहरुमा संशोधन गरिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
त्यस्तै कुनै दुई प्राकृतिक व्यक्तिहरुबीच भएको सेयर खरिदबिक्रीको हकमा प्रचलित कानुनबमोजिम कुनै व्यक्तिले १० लाख रुपैयाँभन्दा कम कारोबारको नगदै लेनदेन गर्न सकिने प्रावधान रहेको हुँदा कुनै कम्पनी संलग्न भई गरेको खरिदबिक्रीबोहक अन्य खरिदबिक्रीको हकमा उक्त सीमासम्मको कारोबारमा चुक्ता प्रमाणका रुपमा बैंक स्टेटमेन्ट पेस नभएको अवस्थामा पनि अभिलेख स्वीकार गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७३–७४ भन्दा पछिको लेखापरीक्षण प्रतिवेदनमा चुक्तापुँजी उल्लेख भएको तर सेयर लगत जारी नभएको कम्पनीको सो पुँजीबराबरको चुक्ता प्रमाण पेस गरी सेयर लगभ अभिलेख गरेरमात्र कम्पनी प्रशासनसम्बन्धी अन्य कागजातको अभिलेख स्वीकार गरिने व्यवस्था गरिएको छ ।
भदौ १८ पछि संस्थापना भएका कम्पनीहरुले प्रथम वार्षिक साधारणसभा गर्नुअगाडि नै अनिवार्य रुपमा सेयर बाँडफाँट गरी कबुल गरेको सेयर रकमको पूरा वा आंशिक रुपम चुक्ता गरी सेयर लगत अभिलेख गराउनुपर्ने व्यवस्था कम्पनी रजिस्ट्रारको कार्यालयले गरेको छ। सेयर लगत प्रमाणित गरेर लगेपछि मात्र कम्पनीको अध्यावधिकलगायतका कम्पनी प्रशासनसम्बन्धी अन्य काम कारबाही गर्नुपर्नेछ ।






































