काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले निष्कासन गरेको खुलामुखी सामूहिक लगानी कोष (ओपन म्युचुअल फण्ड) अन्तर्गतको इकाईमा आवेदन दिने म्याद थप गरिएको छ। अब लगानीकर्ताले उक्त फण्डमा चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि सो मिति भन्दा अगाडि नै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारी गरी बिक्री प्रक्रिया बन्द गर्न सकिने क्यापिटलले जनाएको छ।
क्यापिटलले फागुन २८ गतेदेखि खुलामुखी सामूहिक लगानी कोष योजना अन्तर्गत “गरिमा सुवर्ण योजना” नामक ओपन म्युचुअल फण्डको इकाई बिक्री खुला गरेको हो।
उक्त योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड ले माघ २१ गते क्यापिटललाई अनुमति दिएको थियो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। यसअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका दरले १० करोड इकाई जारी गरिएको छ।
क्यापिटलले पहिलो चरणमा ५ करोड इकाई मात्र निष्कासन गर्न लागेको हो। तीमध्ये ६० लाख इकाई बीज पुँजीका रूपमा योजना व्यवस्थापक गरिमा क्यापिटललाई र ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक लाई छुट्याइएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस योजनामा नेपाली नागरिक, गैरआवासीय नेपाली, प्रचलित कानुनअनुसार दर्ता भएका नेपाली फर्म तथा संघ–संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, साथै सञ्चयकोष, कल्याणकारी कोष, गुठी तथा अक्षयकोष जस्ता विभिन्न कोषहरूले पनि इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।



































