काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर– कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा डिप बोरिङ जडान गर्ने उद्देश्यले रु २ लाख ५० हजार आर्थिक सहायता प्रदान गरेको छ।
बैंकले उपलब्ध गराएको सहयोगले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सहज र सुरक्षित खानेपानी सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना जोशी र प्रधानाध्यापक मिनु अधिकारी दाहाललाई संयुक्त रूपमा चेक हस्तान्तरण गरे।
सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख श्रीधर अधिकारी सहित बैंक तथा विद्यालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकले समुदायमुखी गतिविधि तथा शिक्षा क्षेत्रमा विभिन्न सहयोग कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। नेपाल एसबिआई बैंकले हाल १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।






































