काठमाडौँ । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) मा ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।
पहिलो त्रैमासमा भने राष्ट्र बैङ्कले ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। जुन चालु आर्थिक वर्षमा उठाउने लक्ष्य राखिएका आन्तरिक ऋणको ४०.५ प्रतिशत हो।
केन्द्रीय बैङ्कले आज आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो। राष्ट्र बैङ्कले दोस्रो त्रैमासमा ट्रेजरी बिल १० अर्ब रुपैयाँ र विकास ऋणपत्रबाट २१ अर्ब रुपैयाँ गरी कुल ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ।
चालु आर्थिक वर्षमा राष्ट्र बैङ्कले कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। जसअनुसार अब तेस्रो त्रैमास ४७ अर्ब ६९ करोड रुपैयाँ र चौथो त्रैमासमा ६४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने राष्ट्र बैङ्कले तालिका सार्वजनिक गरेको छ।
नेपाल सरकारको ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख भन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९-८० को तथ्यांक सार्वजनिक गर्दै आन्तरिकतर्फ ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर र बाह्यतर्फ १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख रुपियाँ तिर्न बाँकी रहेको जनाएको थियो ।
कुल सार्वजनिक ऋणलाई जनसङ्ख्याको आधारमा प्रतिव्यक्ति ऋण ७६ हजार १७७ रुपियाँ बराबर रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म नेपालको कुल ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपियाँ रहेको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै २ खर्ब ८ अर्ब ३८ करोड २१ लाख रुपियाँ सार्वजनिक थपिएको छ । जसमध्ये १ खर्ब ४० अर्ब ८७ करोड ९९ लाख आन्तरिक र ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण रहेको छ ।
सरकारले गत वर्ष साँवा ब्याजमा २ खर्ब २२ अर्ब ७४ करोड २१ लाख रुपियाँ खर्च गरेको छ । जसमध्ये, आन्तरिक ऋणको १ खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४३ अर्ब १ करोड ६८ लाख रुपियाँ खर्च गरेको छ ।
सरकारले आन्तरिक ऋणको साँवा १ खर्ब १५ अर्ब ११ करोड ७८ लाख, ब्याज ६४ अर्ब ४९ करोड ४२ लाख र कमिसन ११ करोड ३३ लाख रुपियाँ बराबर खर्च गरेको छ । त्यस्तै बाह्यतर्फ ३४ अर्ब ६१ करोड ७९ लाख साँवा र ८ अर्ब ३९ करोड ८९ लाख रुपियाँ ब्याज भुक्तानी गरेको छ ।

































