काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप रकम ५९ खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैैंकको तथ्याङ्क अनुसार हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकहरुको निक्षेप ५२ खर्ब १४ अर्ब पुगेको छ, भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ । यस्तै, कर्जा लगानी समेत ५० खर्ब पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकले मात्रै ४४ खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ, भने विकास बैंक र फाइनान्स कम्पनीहरुले पाँच खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गएको आइतबारसम्मको तथ्याङ्क हेर्दा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ८१ दशमलव ५३ प्रतिशत रहेकोे छ । बैंकहरुले कुल निक्षेपको ९० प्रतिशत कर्जा लगानी गर्न पाउने व्यवस्था छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरुसँग अझै पाँच खर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ । निक्षेप संकलन बढ्दै गएकाले अब व्याजदर घट्दै जाने बैंकहरहरुले अड्कल काटेका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकले प्रिमियम घटाउन थालिसकेकाले अब बैंकहरुले आधार दरमा जोड्दै आएको प्रिमियम पनि घटाउँदै लगेको बताएका छन् । सोमबार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रिमियम घटेसँगै ब्याजदर पनि घट्दै जाने बताए । राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबारको व्याजदर ३ दशमलव २२ प्रतिशत रहेको छ ।


































