काठमाडौँ : मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापना भएको उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा मिति २०८२ पौष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू सम्पन्न गरेको छ।
बैंकले उक्त अवसरमा केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममार्फत कुल ७५५ युनिट रगत संकलन गरी सम्बन्धित स्थानीय रक्तसञ्चार केन्द्रहरूलाई हस्तान्तरण गरेको छ।
त्यसै अवसरमा बैंकले “सन २०५० मा मेरो नेपाल” शीर्षकमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो। उक्त प्रतियोगितामा देशभरबाट ७९१ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा काठमाडौँकी रिया खड्काले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकी छन्।
यसका अतिरिक्त बैंकले सातै प्रदेशलाई समेट्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। जसअन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान, विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण, बागमती सफाइ महाअभियानलाई सफाइ सामग्री सहयोग, सेवा आश्रमजस्ता गैरनाफामूलक संस्थालाई सिरक र डस्ना सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण, हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका दुर्गम बस्तीमा जीविकोपार्जनका लागि सिलाई मेसिन वितरण तथा ई–नेबल नेपालमार्फत बालबालिकालाई कृत्रिम हात हस्तान्तरण गरिएको छ।
बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाटमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गर्नुभएको थियो। कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने बैंकको वर्तमान अवस्था, प्रगति तथा गतिविधिबारे प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराउनुभएको थियो।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन गरिएको थियो भने संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा बैंकका सञ्चालक, सेयरधनी, सेवाग्राही तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेजबहादुर गिरीले गर्नुभएको थियो।






































