काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । गत सोमबारको निर्णयअनुसार बुधबार देखि लागू हुनेगरी ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको हो ।
विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ भने विदेशी विनिमय व्यवस्थापन विभागमा किरण पण्डितलाई लगिएको छ । पण्डित भुक्तानी प्रणाली विभागमा कार्यरत थिए ।
गुरुप्रसाद पौडेलले मानव संशाधन विभागको जिम्मेवारी पाएका छन् । उनले बैंक तथा वित्तीय संस्था नियमन विभागमा समालेका थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागमा रामु पौडेललाई लगिएको छ । पौडेल मुद्रा व्यवस्थापन विभागमा थिए ।
त्यस्तै, मुद्रा व्यवस्थापन विभागमा अनुज दाहाललाई सारिएको छ भने उनी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा थिए । राजन विक्रम थापाले संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । उनी गभर्नरको कार्यालयमा थिए ।
दयाराम शर्मा गभर्नर कार्यालयको जिम्मेवारीमा पुगेका छन् भने यसअघि उनी मौद्रिक व्यवस्थापन विभागमा रहेका थिए । मौद्रिक व्यवस्थापन विभागमा डिल्लीराम पोख्रेल पुगेका छन् । पोख्रेल बैकिङ विभागमा थिए । बैकिङ विभागको जिम्मेवारी लिन रोशनकुमार सिग्देल पुगेका छन् ।
































