काठमाडौं । गत असार मसान्तदेखि यता चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब रुपैयाँ भन्दा बढी देखिएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुको नाफा ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ पुगेको हो।
सोही तथ्यांकलाई आधार मान्दा नबिल बैंकले सबैभन्दा धेरै तीन अर्ब ९८ करोड रुपैयाँ नाफा गरेको छ । यता राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ६८ करोड नाफा गर्दा ग्लोबल आइएमई बैंकको दुई अर्ब ६८ करोड रुपियाँ रहेको छ ।
त्यस्तै, प्राइम बैंकको दुई अर्ब ५४ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको दुई अर्ब ३८ करोड , एनआईसी एसिया बैंकको दुई अर्ब १४ करोड, एभरेस्ट बैंकको एक अर्ब ९८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको एक अर्ब ९४ करोड, एनएमबि बैंकको एक अर्ब ६५ करोड, कृषि विकास बैंकको १ अर्ब ५७, हिमालयन बैंकको एक अर्ब ८३ करोड , सिद्धार्थ बैंकले एक अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन भएको तथ्यांकमा देखिन्छ ।
त्यसरी नै लक्ष्मी सनराइज बैंकको नाफा एक अर्ब ४० करोड, सानिमा बैंकको एक अर्ब ४० करोड, कुमारी बैंकको एक अर्ब १२ करोड नाफा रहेको देखिन्छ । सिटिजन्स इन्टरनेशनल बैंकको नाफा ९९ करोड ७८ लाख, माछापुच्छ्रे बैंकको ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकको ९५ करोड ९१ लाख, प्रभु बैंकको ९२ करोड ७६ लाख , नेपाल एसबीआई बैंकको ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।


































