काठमाडौँ । देशका वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दती निक्षेप (Fixed Deposit) को ब्याजदर सार्वजनिक गरेका छन्। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सुधार भइरहेका बेला अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केही बैंकहरूले भने व्यक्तिगततर्फको ब्याजदर घटाएका छन्।
यस महिनामा विशेषगरी व्यक्तिगत निक्षेपको ब्याजदर केही बैंकहरूले घटाएको देखिन्छ, जबकि संस्थागत निक्षेपतर्फ धेरै बैंकहरूले दर यथावत राखेका छन्।
एनआईसी एशिया बैंकले असारका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत कायम गरेको छ।
नेपाल बैंक लिमिटेडले भने आफ्नो ब्याजदरमा कुनै परिवर्तन नगरी व्यक्तिगततर्फ ४.२५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत कायम राखेको छ। प्रभु बैंकले पनि स्थिरता कायम गर्दै व्यक्तिगततर्फ ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत दर यथावत राखेको छ।
एभरेष्ट बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा उच्च ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ। एनएमबी बैंकले पनि व्यक्तिगततर्फ ४.७५ प्रतिशत दर कायम राखे पनि जेठको तुलनामा केही कमी आएको छ।
यता, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक र लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर घटाएका छन्। कुमारी बैंकले व्यक्तिगततर्फ ३.६१ प्रतिशतमा झारेको छ, जुन सूचीमा न्यून दरमध्ये पर्छ।
नेपाल एसबीआई बैंक र नबिल बैंकले भने आफ्नो दर स्थिर राख्दै क्रमशः ४.२५ प्रतिशत र ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदर कायम गरेका छन्।
समग्रमा हेर्दा असार महिनामा बैंकहरूबीच ब्याजदर प्रतिस्पर्धा केही शान्त देखिएको छ। तरलता स्थिति सहज हुँदै जाँदा ब्याजदरमा क्रमिक गिरावटको संकेत देखिन थालेको छ। यसले निक्षेपकर्तालाई कम प्रतिफल दिन सक्ने भए पनि कर्जाको ब्याजदर घट्ने सम्भावना भने बढेको विश्लेषण गरिएको छ।
































