काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्ने उद्देश्यले आज ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ।
केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ नामक उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रक्रियामार्फत जारी गर्न लागेको जनाएको छ। बोलकबोल आज दिउँसो ३ बजे हुनेछ, जसबाटै यसको ब्याजदर तय गरिनेछ।
राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन पाउनेछन्।
एक वर्षे अवधिको यस ऋणपत्रको साँवा २०८४ असार १७ गते फिर्ता गरिनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था छ।
लगानीकर्ताहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म, ५ करोडले भाग जाने दरमा बोलपत्र पेश गर्न सक्नेछन्।
































