काठमाडौँ । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्दैछ। केन्द्रीय बैंकले अनलाइन बोलकबोलमार्फत बिक्री खुला गर्ने यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।
बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ र सोही प्रक्रियाबाट तय हुने ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ।
यो ऋणपत्रको अवधि एक वर्ष रहनेछ।
इच्छुक सहभागी संस्थाले न्यूनतम ५ करोड रुपैयाँबाट बोलकबोल गर्न सक्नेछन् र त्यसपछि ५ करोडकै गुणकमा अधिकतम आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्। स्वीकृत ब्याजदरका आधारमा योग्य सहभागीहरूलाई ऋणपत्र वितरण गरिनेछ।
जारी गरिएका ऋणपत्रहरूलाई लगानी पोर्टफोलियोमा समावेश गर्न सकिनेछ। यद्यपि, यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ।
































